EXCHANGERATES

Home » , » ‘विमल, तैंले नाम राखिस्’

‘विमल, तैंले नाम राखिस्’

Unknown | 3:26 PM | 0 comments
महिना १६ टेकेका विमल घर्तीमगरले पाकिस्तानविरुद्व ९१ औं मिनेटमा गोल नगरेको भए जारी साफ च्यम्पियनसिपमा नेपालको दोस्रो चरणमा प्रवेशको सम्भावना सकिन्थ्यो ।
 
राष्ट्रिय टोलीका सशक्त डिफेन्स बिराज महर्जनको शव्दमा, ‘विमल भाईको गोलले हामी सेमिफाइनल पुग्ने ९० परसेन्ट कन्फर्म भएको छ ।’
 
नेपाली टोली वानेश्वरको एभरेष्ट होटलम ‘क्लोज क्याम्प’ मा बसेको छ । टोलीका सबैभन्दा कान्छा सदस्य उनै विमल छन् । ५ फिट १० इञ्च अग्ला यी खेलाडी हिजो गरेको गोलले सेलिब्रटी भएका छन् ।
 
खेलमा उनको जति सशक्त प्रस्तुती देखियो कुराकानीमा उनी त्यत्तिकै अबोध लाग्छन् । उनले आफू कहिले राष्ट्रिय टोलीमा परे भन्ने मात्र नसम्झिएका हैनन् कि आफ्नो तौल समेत बताउन सकेनन् । 
 

...

 
खेलको पासा पल्टाउने गोल गरेपछि उनी यतिबिघ्न खुशी भएकी जर्सी फुकालेर हावामा फ्याँकिदिए । खेलको नियमको हेक्का राखेनन् । दर्शकदिर्घाबाट तालीको गडगडाहाटले अभिनन्दन गरिरहँदा उनी दण्डित हुनुप¥यो । रेफ्रीले उनलाई पहेलो कार्ड देखाए ।
किन ?
 
‘गोल गरेपछि मलाई सपना जस्तो लाग्यो । होस हवास हरायो । ग्राउण्डमा छु भन्ने नै बिर्सिए । ड्याडीलाई सम्झिएँ । उहाँको सपना पुरा भएजस्तो लाग्यो,’ बुधवार अपरान्ह सेतोपाटीसँग कुरा गर्दै विमलले भने, ‘यलो कार्ड पाएपछि मात्र म झस्याङ भए ।’
 
नवलपरासीको पञ्चनगर गाविस भूताहाको सामान्य परिवारका विमलका बाबु होमबहादुर पनि फुटबल खेलाडी नै थिए । महेन्द्र पुलिस क्लबका ।
 
छुट्टिमा घर जाँदा होमबहादुर छोरालाई बल, बुट लगिदिन्थे । कोठा, आँगन, बारीमा पनि फुटबल खेल्न जोस्याउँथे । बाबुछोरा भकुण्डो हानाहाना गर्न थालिहाल्थेँ । औला समातेर डो¥याउँदै गाउँको चौरमा लान्थे । बल हान्न सिकाउँथे र भन्थेँ, ‘खेलाडी बन्नुपर्छ छोरा, खेलाडी ।’
 
पहेलो कार्ड खाएर सपनाको संसारमा बरालिएको उनको मन खेल मैदानमा फर्केपछि विमलले सम्झिए, ‘मैले गोल गरेको हेर्न पाएको भए ड्याडी कति खुशी हुनुहुन्थ्यो होला ।’
 
विमललाई बाबुसँग कहिले फुटबल खेल्न सिके भन्ने हेक्का छैन । ‘ड्याडी र गाउँका केटाकेटीसँग बल खेलेको मात्र सम्झिन्छु,’ विमल भन्छन्, ‘त्यतिबेला कति वर्षको थिए, अह म भन्न सक्दिन ।’
 
उनले ‘ड्याडी’ को प्रशिक्षण धेरै वर्ष लिन पाएनन् । मोटर दुर्घटनामा परेर होमबहादुरको २०६३ सालमा नै निधन भयो । विमल कक्षा ३ मा पढ्थेँ । धनुरधारी अर्जुनका अभिमन्यूजस्तै गर्भैदेखि विमलमा फुटबलको धातु विकास भएको रहेछ, सायद ।
 
‘पढ, पढ हैन खेल, खेल’ भन्ने ड्याडी परलोक गएपछि उनी झनै फुटबल क्रेजी भए । ‘९÷१० वर्षको हुँदा नै दाइहरुले टिममा राखेर गाउँ गाउँको खेलमा भिडाउँथे ।’ बल नपुगेपनि विपक्षीलाई छक्याई छक्याई उनी धुरुक्क पार्थे ।
 
उनी १२ वर्षमा नवलपरासी उत्तरी भेगको सेलिब्रेटी बनिसकेका थिए । एन्फाले छानेपछि त उनको व्यवसायीक जीवन नै सुरु भइहाल्यो । सुरुको दुई वर्ष बुटवल बसे । त्यहिँबाट १३ वर्षमुनिको राष्ट्रिय टोलीमा छानिएर इरान गए । त्यतिबेला ‘लेफ्ट विङ्’ बाट खेल्ने नामुद थिए उनी ।
 
दुई वर्षदेखि उनी सातदोबाटोस्थित एकेडेमीमा बसिरहेका छन् । खायो, खेल्यो, पढ्यो । जिन्दगी मस्ती छ । तैपनि आमा धनमायालाई चित्त भने बुझेको थिएन । खेलेर मात्र केहि पाइने हैन, जिन्दगी चल्ने हैन । विमलको मम्मीको चिन्ता यहिँ छ । बाबु खेलाडी भएपनि ‘वाहवाही’ बाहेक केहि नपाएको पिडा एक्ली धनमायाले बेहोरिरहेकि छिन् ।
 

...

 
‘खेल सकिएको केहि मिनेटमा मम्मीको फोन आयो,’ विमलले भने, ‘छोरा तैले नाम रखिस् ।’ आमाको यो बचनले उनलाई दिनुसम्म ऊर्जा दिएको छ । ‘म भागी भागी फुटबल खेल्न हिँड्थे मम्मी पढेन भनेर पिरोलिनुहुन्थ्यो,’ अवोध मुस्कान सहित विमलले भने, ‘मम्मीले नै नाम राखिस् भनेपछि मलाई अब के चाहियो ?’
 
सातदोबाटोकै लोकस्मृती बोर्डिङ स्कुलमा १० कक्षाका विद्यार्थी विमललाई अंग्रेजी विषयमा रुची छ । गेम परेको बेला, क्लोज क्याम्पका बेला र विदेश जाँदा पढ्न पाइन्न । आक्कलझुक्कल पढेकै भरमा पास गर्नुपर्छ । ‘तैपनि मेरो पढाई राम्रै छ,’ उनले खुशी हुँदै भने ।
 
उनले पहिला पनि विभिन्न खेलमा नेपालका लागि गोल गरिसकेका छन् । तर आमाबाट यस्तो स्यावासी भने पाएका थिएनन् । यसपाला साफ गेममा गोल गरेपछि उनको खेललाई करिअर बनाउने सपना घरपरिवारबाट अनुमोदन भएको छ ।
 
सातदोबाटो आइसकेपछि उनले जापानमा खेल्न जाने मौका पाए । १४ वर्षमुनिको खेलमा ७ गोल गरेर फर्किए । नेपालमै भएको गेममा ७ गोल गरेको पनि उनलाई सम्झना छ ।
 
राष्ट्रिय टोलीमा परेपछि मैत्रीपूर्ण खेलका लागि विमल पनि कुवेत र बहराइन गए । अभ्यास खेलका क्रममा कुवेतको अल अरबी टिमविरुद्व ह्याट्रिक गरेर प्रशंसाको पात्र बने ।
 
तर त्यो सुगन्ध एन्फा, राष्ट्रिय टिम र खेलसँग गहिरो सरोकार राख्नेहरुभन्दा बाहिर फैलेको थिएन ।
 
अहिले ?
 
कुरै नगरौं । उनले भने, ‘आज (बुधवार) बिहान हजुर्बाले फोन गरेर भन्नुभयो– गज्जव गरिस नाति ।’
 

...

 
६७ औं मिनेटमा मैदान प्रवेश गरेका विमलले राष्ट्रिय टोलीका लागि सबैभन्दा कम उमेरमा गोल गरेर रेकर्ड राखे । रेकर्ड त रहने नै भयो । सायद राष्ट्रिय टोलीमा कम उमेरमा प्रवेश पाउने पनि उनी नै हुन् ।
 
गोल गरेको क्षणले पनि विमललाई ‘सेलिव्रेटी’ बनाउन साथ दिएको छ । उनी पहिलेदेखि नै मैदानमा उत्रेको भए । नेपालले पहिलो गोल गरेको भए । नेपालले पहिले र पाकिस्तानले पछिल्लो गोल गरेर बराबरी बनाएको भए पनि विमलको यतिबिघ्न वाहवाही हुने थिएन ।
 
९० मिनेटसम्म नेपालले गोल फर्काउन नसकेको । रंगशाला र टिभी हेरिरहेका नेपाली दर्शकको मुटुमा ढ्याङ«ो ठोकेको बेला १६ वर्षे केटोले निर्णायक गोल गर्नु चमत्कार जस्तै भयो । त्यो पनि एक्स्ट्रा खेलाडीले एक्स्ट्रा टाइममा ।
 
विमल सेलिब्रेटी बन्न खेलेका हैनन् । ‘खेल्दा मज्जा आउँछ,’ खेलमा दिनरात गरेको मेहनतको रिटर्न यहिँ हो । त्यसबाहेक देश, विदेश घुम्ने मिठो खाने र ब्रयाण्डेड लुगाले पनि उनलाई तानेको छ । गाउँ, ठाउँ, देशकै नाम राख्न पाइने रहेछ भन्ने पनि उनले बुझ्दै गएका छन् ।
 
एमरेष्ट होटलको स्विमिङ् पुल छेउमा फोटो पत्रकार प्रकाश लामा र म विमलसँग कुरा गरिरहँदा होटलका स्टाफ पनि बिचबिचमा आउँदै बधाई दिँदै फर्किरहेका थिए ।
 
क्यामेराको क्लिक क्लिक र धमाधम डायरीमा टिपेको देखेर उनीहरुहले हामी पत्रकार भन्ने अनुमान लगाइसकेका थिए । ‘जिल्लाको इज्जत राख्यौं भाई,’ नवलपारासी कावासोतीका घर भएका सिनियर वेटर चिरञ्जिवी नेपालले विमललाई धाप मार्दै भने ।
 
भक्तपुर सिरुटारका वासुदेव खड्कालाई लम्सालको टिप्पणी ‘न्यारो माइन्डेड’ लाग्यो र त जवाफ दिइहाले, ‘के को जिल्लाको नि देशकै इज्जत राखे भन्नु नी ।’
 
विमल अबोध वालक झैं प्रतिक्रियाविहिन बसिरहे । उनीहरुको प्रशंसाप्रति निष्पृह । हामीसँग कुरा गर्न पनि उनलाई झर्को लागेजस्तो । थकित र सायद ‘ड्याडी’को सम्झनाले उदास ।
 
‘भोली (बिहिबार) इण्डियालाई जसरी पनि जितुन् भनेर हामी खेलाडीहरुले के खान्छन् के मिठो मान्छन् भनेर दिलोज्यानले लागिपरेका छौं,’ खड्काले भने ।  
 
त्यसमा पनि विमल प्रतिक्रियाविहिन नै रहेँ ।
 
साँच्चि इण्डिया कस्तो टिम हो ?
 
‘मिलाएर खेल्यो भने सजिलै जितिन्छ,’ बल्ल विमल बोले, ‘उनीहरु हाइटी (अग्ला) छन् लामो खेल्छन् हामीले ग्रास खेल्नुपर्छ ।’ विमल भन्दा सिनियर अनुभवी स्ट्राइकरहरु भएकाले उनी सायद ‘एक्स्ट्रा’ मै पर्छन् ।  
 
तैपनि भारतलाई जित्ने उनको सूत्र यस्तो छ, ‘क्याप्टेन सुनिल क्षेत्री, १० नम्बरका जेजे र ७ नम्बरका मेहताव हुसेनलाई रोक्न सकियो भने हामीलाई सजिलो हुन्छ ।’
 
उनी आफूले गरेको गोलको जस टिम, क्याप्टेन, कोच र अरु सिनियर दाई (खेलाडी)हरुलाई दिन रुचाउँछन् । ‘म मैदान छिर्दा गोल त जसरि पनि गर्नैपर्छ भनेर पसेको थिए ।’
 
नेपाली टोलीका यी स्ट्राइकरका दुवै खुट्टा यत्तिकै चल्छ । तैपनि देब्रेको हतौडी अझ राम्रो छ । ‘हिजो पनि मैले देब्रेले हानेको बल नै गोल भएको हो नि,’ विमलले भने ।
 
१६ वर्षमै आम नेपाली भन्दा निकै अग्ला यिनको बढ्ने उमेर अझ बाँकि छ । उँचाईको अनुकुलताले ‘हेड’ गर्न पनि सजिलो छ ।
 

...

 
मम्मी, हजुर्बा र केहि लगौटिया यारको बाहेक अरुको फोन यिनले उठाएका छैनन । हिजो साँझदेखि फोन बजेको बज्यै । झर्को लागेर यिनले स्विच अफ गरिदिए ।
 
एकछिन फेसबुक खोलेका थिए । एकैछिनमा फ्रेण्ड रिक्वेष्ट एक हजार नाघ्यो । ‘कसैको एसेप्ट गरिन, साइनआउट गरिदिए,’ विमललाई प्रचारप्रसार र स्टारडममा रुची छैन ।
 
उनको चित्त खेलमा छ । सिर्फ खेल । विश्व फुटबल इतिहास मात्र हैन नेपाली फुटबलको नालीबेली पनि उनलाई चासो रहेनछ ।
 
तैपनि केहि सेलिब्रेटीलाई उनले आफ्नो रोलमोडल ठान्ने रहेछन् । एन्फाको फस्ट व्याचको बिजय गुरुङ्गको छलाउने कलाबाट विमल कायल छन् । चालिसको दशकमा राष्ट्रिय टोलीमा तहल्का मच्चाएका मणि शाहबारे सुनेका छन् । ‘उहाँ नेपाली म्याराडोना रे,’ उनले भने, ‘गणेश थापाले बल पाउनेबित्तिकै गोल हान्नुहुन्थ्यो रे ।’
 
तर उनले धेरैको खेल टिभी वा सिडीमा पनि हेर्न पाएका रहेनछन् ।
 
विश्व फुटबलमा भने उनले एउटामात्र देश, क्लब र खेलाडीको नाम लिए, ‘अर्जेन्टिना, बार्सिलोना, लियोनल मेसी ।,’
 
उनका लागि सुपर हिरो भने आफ्नै ड्याडी । ‘ड्याडीको सपना पुरा भएकाले पनि मेरो भदौ १८ गते जिन्दगीको सबैभन्दा महत्वपूर्ण दिन, भयो,’ विमल झन् भावुक हुँदै गए ।
 

...

 
भर्खर जुँगाको रेखी बसेका पठ्ठो विमल रोमान्सको गफ गर्न पनि लजाए । देश, विदेश घुमेका छन् । संसार देखेका छन् । तैपनि पुरापुरा लजालु र ग्रामिण ।
 
डु यु ह्याभ गर्लफ्रेण्ड ?
 
उनले छ पनि भनेनन् । छैन पनि भनेनन् ।
 
टम्म मिलेका सेता दाँत देखाउँदै लामो हाँसो हाँसे । छैन भन्ने जनाउ दिन टाउको हल्लाइरहेँ । मेरो अनुहारमा पनि हेरेनन् । त्यो पनि भुइतिर फर्केर ।
 
‘अब धर पाउनुहुन्न । प्रोपोजलको लाइन लाग्छ,’ मैले फेरि खोतले ।  
 
उनी झन् रातो पिरो भए । खित्का छोडोर हाँस्दै घोप्टोपरे । मस्किरहे ।
 
तस्विर :प्रकाश लामा
 ------------------------------------------------

बिमल चम्कदा नेपाल पाकिस्तान बराबर(फोटोफिचर र भिडियोमा)


Share this article :

0 comments:

Post a Comment

JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger